राष्ट्रिय मुक्ति पार्टीमा खैलावैला,महासचिव केशव झासहित ९ नेताले छाडे पार्टी


जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित ९ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र महतोलाई सम्बोधन गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा महासचिव झाका साथै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जालान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन् ।

पार्टी छोड्ने निर्णयबारे जानकारी दिँदै महासचिव केशव झाले पछिल्ला राजनीतिक घटनाक्रमले पुराना शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अगाडि बढ्न नसक्ने स्थिति सिर्जना भएको बताएका छन् ।

देशमा निरन्तर आन्दोलन र संघर्ष भए पनि जनताका न्यूनतम् आवश्यकताहरू पूरा हुन नसकेको र नागरिकमा निराशा छाएको उनको भनाइ छ ।

झाले अबको राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’ मार्फत अगाडि बढाउने घोषणा गरेका छन् ।

विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि समाजका विभिन्न क्षेत्रका सक्षम र योग्य व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै छिट्टै विस्तृत योजना सार्वजनिक गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।​

यसैबीच, सोही पार्टीका अर्का महासचिव अनिलकुमार महासेठले ५ महासचिव मध्ये एक महासचिव केशव झाले राजीनामा दिएको भए पनि राजीनामा पत्रमा रहेका अन्य नामहरूमध्ये प्राय जसोलाई जानकारी विनानै नाम राखिएको कुरा आएको बताएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार