काठमाडौं, १८ माघ । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको संख्या १०० पुगेको छ ।
पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए । सो क्रममा नौ जनालाई जीवितै फेला पारेका थिए । स्थानीय अधिकारीका अनुसार भग्नावशेषमा अब अरू कोही नफसेको बताएका छन् ।
घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन् । पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन् । त्यसैगरी २ सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।
सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए । जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।
प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसो प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटना लगातार बढिरहेको छ ।
उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ । ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको छ । त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर निकाय र प्रतिआतंकवाद ब्यूरोहरू छन् ।
पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । यसअघि आफू तालिबानबाट टुक्रिएको एउटा समूह भएको दाबी गर्ने एउटा समूहका एक कमान्डरले उक्त घटना आफूले गराएको दाबी गरेका थिए ।


