अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु


संखुवासभा, १७ माघ । संखुवासभामा निमार्णाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल केराबारीमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार मंगलबार राति ३ बजे विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंलबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो ।

सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घाइते सिन्धुपाल्चोकका मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातगोडा र कुममा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार