जनकपुरधाम । यातायात व्यवस्था कार्यालय बर्दिबासले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने उद्देश्यले पालिकामै पुगेर लाइसेन्स हस्तान्तरण गर्न थालेको छ। मधेश प्रदेशका सर्लाही, महोत्तरी र धनुषाका विभिन्न पालिकामा छपाइ भएर आएका लाइसेन्स पुर्याउन थालिएको हो।
सरकारको नीतिअनुसार सेवाग्राहीले लाइसेन्स लिन यातायात व्यवस्था कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले पालिकामार्फत वितरणको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। यससँगै सेवाग्राहीले आफ्नै स्थानीय तहबाट लाइसेन्स प्राप्त गर्न थालेका छन्।
यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राकेश यादवका अनुसार सर्लाही, महोत्तरी र धनुषाका विभिन्न पालिकामा लाइसेन्स पुर्याउने काम भइरहेको छ। कार्यालयको नियमित सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले शनिबार र आइतबार बिदाको दिन पारेर आफू स्वयं पालिकामा पुग्ने गरेको उनले बताए।
कार्यालय प्रमुख यादवले पालिकाका प्रमुख तथा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत जनप्रतिनिधि तथा कर्मचारीलाई लाइसेन्स हस्तान्तरण गर्ने गरिएको जानकारी दिए। उनका अनुसार आगामी दिनमा छिमेकी जिल्ला सिन्धुलीलगायतका पालिकामा समेत लाइसेन्स पुर्याउने योजना छ।
उनले भने, “लाइसेन्स नवीकरण नै अनलाइनबाट गर्न मिल्ने भएपछि सेवाग्राहीलाई थप सहजता होस् भनेर प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पुर्याउन थालेका छौँ।”
पालिकामा लाइसेन्स पुगेको जानकारी सम्बन्धित यातायात व्यवस्था कार्यालय तथा पालिकाले सेवाग्राहीको नामावलीसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन्।
लालबन्दी नगरपालिका–७, डुमडुमेका भीमप्रसाद काफ्लेले पालिकाबाटै लाइसेन्स उपलब्ध गराउने सरकारी व्यवस्था प्रशंसनीय रहेको बताए। अनलाइनबाटै लाइसेन्स तथा सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गर्न पाउँदा सेवा थप सहज र छरितो भएको उनको भनाइ छ।
यातायात व्यवस्था कार्यालयले पालिकामा हस्तान्तरण गरेका लाइसेन्स सेवाग्राहीलाई वितरण गर्न सम्बन्धित पालिकाले एक जना कर्मचारीलाई जिम्मेवारी दिने गरेका छन्। लालबन्दी नगरपालिकाका कर्मचारी श्याम लामाका अनुसार पालिकाले दिएको जिम्मेवारीअनुसार लाइसेन्स लिन आउने सेवाग्राहीलाई सहजीकरण गरिरहेको छ।
यातायात व्यवस्था कार्यालय बर्दिबासका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ सुरु हुनुअघि अर्थात् गत असारसम्म नवीकरण गरिएका लाइसेन्स छपाइ भएर आएका छन्। कार्यालयमा प्राप्त भएका लाइसेन्स केही दिनभित्रै सम्बन्धित पालिकामा पठाउने व्यवस्था मिलाइएको छ।
पालिकाबाटै लाइसेन्स वितरण गर्ने व्यवस्थाले विशेषगरी टाढाबाट यातायात कार्यालय पुग्नुपर्ने सेवाग्राहीको समय र खर्च बचत हुने तथा सार्वजनिक सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।


