जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरू जनतासँगको सम्बन्ध सुधार गर्दै पुनः शक्तिशाली बन्ने दाबी गरेका छन्। देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै पक्ष सचेत हुनुपर्ने बताएका छन्।
आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले विगतका गल्ती र कमजोरी सच्याएर जनताको घरदैलोमा पुग्ने बताए।
“विगतका गल्ती सच्याउँदै जनताका घरदैलो तथा टोलबस्तीमा पुग्दै छौँ। हेर्दै जानुहोस्, कम्युनिस्ट पार्टीहरू फेरि पनि शक्तिशाली बन्ने छन्,” उनले भने।
जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टी सङ्गठनलाई पुनः मजबुत बनाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सुरु गरिएको उनले जानकारी दिए। घरदैलो अभियानमार्फत देशभर नयाँ चेतना फैलाउने र राष्ट्रव्यापी आन्दोलनको तयारीमा समेत पार्टी जुटेको उनको भनाइ थियो।
परिवर्तनको उद्गम भूमि, हजारौँ सहिदको बलिदान र राजनीतिक विरासत बोकेको मधेशलाई पार्टीले विशेष प्राथमिकतामा राखेको दाहालले बताए। सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको मधेशमा पार्टीले सङ्गठन विस्तारलाई केन्द्रित गरेको उल्लेख गर्दै उनले राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि मधेशले अग्रभागमा रहेर साथ दिन आग्रह गरे।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय पुराना राजनीतिक दल तथा राजनीतिज्ञले ३५ वर्षको अवधिमा कुनै उपलब्धि हासिल नगरेको भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए।
उनले शिक्षा, साक्षरता, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने सडक तथा विद्युत् परियोजनालगायतका क्षेत्रमा विगत ३५ वर्षमा उल्लेख्य परिवर्तन भएको दाबी गरे।
नेपालले वर्तमान सरकारलाई रोजगारी सिर्जना, किसानका समस्या समाधान तथा उद्योगधन्दा सञ्चालनमा विशेष ध्यान दिन सुझाव दिए। उनले युरोपका विभिन्न देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट पार्टीको झन्डा फहराउने दाबी गरे।
कार्यक्रमका क्रममा सर्लाहीका विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरेका थिए।
नेकपा सर्लाहीका नेता रामेश्वर रायका अनुसार देशका अन्य ७६ जिल्लामा यसअघि नै पार्टी एकता प्रक्रिया सम्पन्न भइसकेको भए पनि सर्लाहीमा आइतबार एकता सभा आयोजना गरिएको हो।
सभामा जिल्लाका विभिन्न स्थानबाट सहभागी नेता तथा कार्यकर्तालाई पार्टीका केन्द्रीय संयोजक दाहाल, सहसंयोजक नेपाल, प्रदेश इन्चार्जलगायतका नेताले प्रशिक्षणसमेत दिएका थिए।


