जनकपुरधाम । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ। पुलमा अहिले रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको छ। काम पूरा भएपछि चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
मधेश प्रदेशमै पहिलो पटक निर्माण गरिएका यी आकाशे पुलले व्यस्त सडकमा पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ।
सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माण गर्न करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएका हुन्।
सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको कामसमेत तीव्र गतिमा भइरहेको छ। उक्त पुल आगामी मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि तीन करोड ३५ लाख, सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि तीन करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ। तीनवटै पुलको लागतमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएको छ। पुल निर्माणको जिम्मेवारी दुई वटा निर्माण कम्पनीले पाएका छन्।
सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक आकाशे पुल पाँच दशमलव छ मिटर अग्लो, २९ दशमलव चार मिटर लामो र तीन मिटर चौडा रहेको छ।
पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता अन्त्य हुने इन्जिनियर झाले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए। पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनले जानकारी दिए।
स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्न निकै जोखिम हुने गरेको बताए। क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका यादवले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।


