जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेलसेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सातामा एक दिन अयोध्याबाट जनकपुरधाम आउने गरी रेलसेवा सञ्चालन गर्न नेपाल र भारतका सम्बन्धित निकायले आवश्यक तयारी अघि बढाएका छन्।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त विशेष रेलसेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यद्यपि, उद्घाटनको औपचारिक मिति भने तय भइसकेको छैन।
पराजुलीले विशेष रेलसेवा सञ्चालनका लागि नेपाल र भारतका रेलवे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए। उनका अनुसार रेलसेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको छ।
रेलयात्रु तथा रेलको सुरक्षाका विषयमा पनि दुवै देशबीच सैद्धान्तिक सहमति भएको छ। नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा जिम्मेवारी लिने समझदारी बनेको पराजुलीले बताए।
केही दिनअघि नेपाल र भारतका रेलवे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारी सम्मिलित टोलीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको यस विशेष रेलसेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलसेवामार्फत जोड्ने योजनाले दुवै देशका तीर्थयात्री तथा धार्मिक पर्यटकलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ।
जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले यस रेलसेवाले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
त्यस्तै, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधाम–अयोध्या विशेष रेलसेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधामका होटल, यातायात तथा व्यापार व्यवसायमा कारोबार बढ्ने अपेक्षा गरिएको छ।
हाल भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालनमा छ। प्रस्तावित जनकपुरधाम–अयोध्या विशेष रेलसेवा सञ्चालनमा आएपछि दुई देशका प्रमुख धार्मिक सहरबीचको सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ।


