सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३३ वर्षीय तुलसी ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीका अनुसार ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको हो । मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले दुर्घटनामा परेका मोटरसाइकल चालक ठाकुरको साथबाट पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार ठाकुर सोमबार बिहान प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित आफ्नो घरतर्फ बीआर ३० वाइ २८५३ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको डीएसपी गौतमले बताए । प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
ठाकुरले पेस्तोल किन र कुन प्रयोजनका लागि बोकेर हिँडेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । हतियार कुनै आपराधिक घटनामा प्रयोग गर्ने उद्देश्यले बोकेको हुनसक्ने आशंकासमेत गरिएको प्रहरीले जनाएको छ ।


