धनुषामा २० वर्षीया विवाहित महिला मृत फेला


जनकपुरधाम । धनुषामा २० वर्षीया विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी प्रियंका दास आइतबार साँझ आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

परिवारका अनुसार प्रियंकालाई कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएको अवस्थामा देखेपछि उनका श्रीमान् विनोद दासले पासो खोलेर शवलाई ओछ्यानमा राखेका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी कपिलेश्वरको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलको अवस्था तथा घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले मुचुल्का उठाउनुका साथै आवश्यक अनुसन्धान अघि बढाएको छ । घटनापछि स्थानीयवासीले प्रियंकाको मृत्यु आत्महत्याका कारण नभई हत्या भएको हुन सक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले घटनास्थलको सूक्ष्म निरीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विरोधसमेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि मृतकका श्रीमान् विनोदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार शव परीक्षणलगायत अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा मृत्युको वास्तविक कारण खुल्नेछ । घटना हत्या, आत्महत्या वा अन्य कारणबाट भएको भन्ने विषयमा अनुसन्धान पूरा भएपछि मात्रै निष्कर्षमा पुग्न सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार