जनकपुरधाम । नेपाल चिकित्सक संघले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ड्युटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्तसहितको समूहबाट भएको आक्रमणलाई अमानवीय तथा निन्दनीय घटना भन्दै भत्र्सना गरेको हो।
संघका अनुसार बिहीबार कार्यस्थलमै डा. साहमाथि आक्रमण भएको थियो। स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न स्थानमा पटक–पटक आपराधिक घटना भइरहनुले उनीहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर असर परेको संघले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम दोषीमाथि कडा कारबाही गर्नसमेत संघले आग्रह गरेको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्य संस्था सुरक्षित कार्यस्थलका रूपमा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत प्रतिकूल असर पार्न सक्ने भन्दै संघले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई प्राथमिकतामा राख्न माग गरेको छ।



