जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्साका ३६ वर्षीय मनिष ठाकुर रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार भदौ १८ गते रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलबाट छुट्टी भएर बाहिरिने क्रममा ठाकुरले बालिकालाई ललाईफकाई गरी आफूसँग लैजाने प्रयास गरेका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो।
सीसीटीभी फुटेजबाट पहिचान खुलेपछि प्रहरीले ठाकुरलाई महोत्तरीस्थित उनकै घरबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीका अनुसार बालिका परिवारसँगै जनकपुरधाममा डेरा लिएर बस्दै आएकी छन्। उनको स्थायी घर सिरहा रहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको खुलेको प्रहरीले जनाएको छ। उनी महोत्तरीस्थित एक रेडियोमा समेत काम गर्ने गरेको प्रहरीको भनाइ छ।
ठाकुरलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए। प्रहरीले घटनाको प्रकृति तथा बालिकालाई लैजान खोज्नुको उद्देश्यबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।


