बालक अपहरण प्रकरणमा महिला पक्राउ


जनकपुरधाम । धनुषामा १५ महिनाका बालक अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। बिदेह नगरपालिका–६ तीनकौरियाका कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त महतो अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको आरोपमा धनुषा प्रहरीले एक महिलालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते साँझ करिब ४ः४० बजे बालक आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको थियो।

खोजीका क्रममा तालुक मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको कमान्डमा प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह (PIIT) को टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा कमला नगरपालिका–८ हटलेटवाटोलमा बस्ने अन्दाजी ४९ वर्षीया पुनिता देवी पासवानले बालकलाई अपहरण गरेको खुलेको हो। उनले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाइछिपाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बालकको खोजीका क्रममा जिल्लास्थित विभिन्न नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानसमेत गरिएको थियो। अनुसन्धानका क्रममा भदौ १२ गते दिउँसो करिब ३ः३५ बजे बालकलाई बालककै घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बालक फेला परेपछि पनि अनुसन्धानलाई निरन्तरता दिँदै प्रहरीले सोही दिन साँझ करिब ५ः४५ बजे पुनिता देवी पासवान भारततर्फ जाँदै गरेको अवस्थामा बिदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकी पासवानमाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार