विद्यार्थीका सुझावका आधारमा शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गर्छौं : मन्त्री पोखरेल


राजविराज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव तथा गुनासोलाई समेटेर मुलुकको शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् ।

शिक्षा तथा खेलकुद क्षेत्रको अवस्था बुझ्न आइतबार सप्तरीका विभिन्न विद्यालयमा पुगेका मन्त्री पोखरेलले विद्यार्थी, शिक्षक तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै पाठ्यक्रम, अध्ययन–अध्यापन, आवश्यक सीप र विद्यालयमा देखिएका समस्याबारे सुझाव संकलन गरेका हुन् ।

विद्यार्थीहरूले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, पाठ्यक्रमलाई व्यवहारिक तथा जीवनोपयोगी बनाउनुपर्ने र अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने सुझाव दिएका थिए । उनीहरूले विद्यालयको भौतिक पूर्वाधार तथा प्रविधियुक्त शैक्षिक सामग्रीको अवस्था सुधार गर्नसमेत माग गरेका थिए ।

मन्त्री पोखरेलले काठमाडौंमा बन्द कोठाभित्र बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई निरुत्साहित गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रम निर्माण तथा परिमार्जन गरिने बताए ।

“विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,” उनले भने, “उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।”

उनले शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधान गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय आवश्यक रहेको बताए । मधेश प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशको शिक्षा तथा खेलकुद क्षेत्रको सुधारका लागि काम गर्नुपर्नेमा समेत उनले जोड दिए ।

मन्त्री पोखरेलले सप्तरीको तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको अनुगमन गर्दै विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या र आवश्यकताबारे जानकारी लिएका थिए । सो क्रममा उनले पाठ्यक्रम निर्माण तथा परिमार्जनका लागि विद्यार्थीबाट सुझावसमेत संकलन गरे ।

त्यसैगरी बोदेबर्साइन नगरपालिका–३ स्थित श्री इश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय, सारस्वरमा पनि विद्यार्थीबाट पाठ्यक्रम तथा शिक्षा सुधारसम्बन्धी सुझाव संकलन गरिएको थियो ।

शम्भुनाथ नगरपालिका–६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालय, भगवतपुर बडहरीमा आयोजित शिक्षा सुधार तथा पाठ्यक्रम परिमार्जनसम्बन्धी सुझाव संकलन कार्यक्रममा पनि मन्त्री पोखरेल सहभागी भएका थिए ।

विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद दासले शिक्षामन्त्री विद्यालयमै आएर विद्यार्थी तथा शिक्षकका समस्या सुनेकोमा खुसी व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा प्रविधियुक्त शैक्षिक सामग्रीका लागि सहयोग आवश्यक रहेको बताए ।

मन्त्री पोखरेलले राजविराज नगरपालिका तथा खडक नगरपालिकाका केही विद्यालयमा समेत विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव तथा गुनासो संकलन गरेका थिए ।

मन्त्री पोखरेलसँगै प्रतिनिधिसभा सदस्य सीताराम साह, डा. अकिता ठाकुरलगायत सहभागी थिए । शिक्षा मन्त्रालयले पाठ्यक्रम निर्माण तथा परिमार्जन प्रक्रियामा विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता बढाउने उद्देश्यले विद्यालयस्तरमै पुगेर सुझाव संकलनलाई प्राथमिकता दिएको जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार