मधेसका स्वास्थ्य संस्थामा अस्थायी कर्मचारीलाई कामकाजमा लगाउन रोक


जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश मातहतका विभिन्न स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल कामकाजमा नलगाउन निर्देशन दिएको छ।

मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रदेशअन्तर्गतका प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अधिकृत सातौं बच्चेलाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा आर्थिक वर्ष २०८३/०८४ का लागि मधेस प्रदेश सरकार, मन्त्रिपरिषद्बाट अस्थायी दरबन्दी स्वीकृत भई नआउन्जेलसम्म गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाउन भनिएको छ।

मन्त्रालयले अस्थायी दरबन्दी स्वीकृत नभएको अवस्थामा त्यस्ता कर्मचारीलाई काममा खटाए वा कार्यालयमा हाजिर गराए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय प्रमुखको हुनेसमेत जनाएको छ।

पत्रमा मधेसका प्रादेशिक अस्पतालहरूअन्तर्गत भारदह, लहान, सिरहा, डुमरिया, जलेश्वर, मलंगवा, धनकौल, गौर, कलैया र पोखरियालगायतका अस्पताल तथा प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई सम्बोधन गरिएको छ।

त्यसैगरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र अन्य स्वास्थ्यसम्बन्धी कार्यालयलाई समेत निर्देशन कार्यान्वयन गर्न भनिएको छ। मन्त्रालयले उक्त निर्णयको जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई समेत पत्राचार गरेको छ।

यस निर्णयसँगै अस्थायी दरबन्दीमा कार्यरत ठूलो संख्याका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आगामी सेवा निरन्तरताबारे अन्योल सिर्जना भएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार