मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको अध्ययन भइरहेको छ : मन्त्री पोखरेल


लहान । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि तथा इन्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याउने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताएका छन्।

शनिबार सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री पोखरेलले मधेश प्रदेशमा कृषि र इन्जिनियरिङ शिक्षाको विस्तार आवश्यक रहेको बताए। लहानस्थित क्याम्पसमा पर्याप्त भौतिक पूर्वाधार रहेकाले कृषि र इन्जिनियरिङतर्फका संकाय थप गरेर सञ्चालन गर्न सकिने उनको भनाइ छ।

राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कृषि तथा इन्जिनियरिङ संकाय सञ्चालनका लागि आफूले तत्कालै पहल गर्ने मन्त्री पोखरेलले बताए। मधेश प्रदेशको शैक्षिक अवस्था कमजोर रहेको भन्दै उनले त्यसको अध्ययन गर्न आफू प्रदेश भ्रमणमा आएको बताए।

“अहिले शिक्षक, अभिभावक र विद्यार्थीसँग अन्तरसंवाद गरेर उनीहरूका समस्या बुझिरहेका छौँ। त्यसकै आधारमा समस्या समाधान गर्ने गरी शिक्षा ऐन ल्याउने तयारीमा छौँ,” मन्त्री पोखरेलले भने।

मन्त्री पोखरेलले लहान नगरपालिका–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको समेत निरीक्षण गरेका थिए। २००४ सालमा स्थापना भएको उक्त विद्यालयको पुरानो साख फर्काउन समयानुकूल विज्ञान तथा प्रविधियुक्त सुविधा सम्पन्न विद्यालयका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा यस क्षेत्रका पुराना विद्यालयलाई स्तरीय बनाउने योजना अघि बढाइएको मन्त्री पोखरेलले बताए।

सांसद गुप्ताले आफ्नो निर्वाचन क्षेत्रमा रहेका पुराना विद्यालयको स्तरीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले भगवानपुर गाउँपालिकामा रहेको हनुमान शारदा माध्यमिक विद्यालय इनर्वा र लहान–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरलाई स्तरीकरण गर्ने चुनावी प्रतिबद्धता पूरा गर्न आफू लागिपरेको बताए।

“यी दुई विद्यालय मात्रै होइन, आगामी दिनमा सखुवानन्कारकटि र लक्ष्मीपुर पतारीमा पनि शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने योजना छ,” सांसद गुप्ताले भने।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार