जनकपुरधाम । नेपाल प्रहरीले काठमाडौंमा गैरकानुनी रूपमा बसोबास गरिरहेका १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा विभिन्न होटलबाट १० जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरू ३० देखि ६४ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ठमेलस्थित होटल ढाका एक्सप्रेस, होटल डी भेढा र होटल अलरहमानलगायत स्थानबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



