जनकपुरधाम । धनुषामा स्कुटी र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना युवक गम्भीर घाइते भएका छन्।
धनुषाको मिथिलाबिहारी नगरपालिका–७ तारापट्टीस्थित जनकपुरधाम–धनुषाधाम सडकखण्डमा गएराति करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार मधेश प्रदेश २–००८ प ६९१५ नम्बरको स्कुटी र मधेश प्रदेश २–००६ प ६३९१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। तीव्र गतिका कारण दुवै सवारीसाधन ठोक्किएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका निवासी लक्ष्मण शर्माका ३० वर्षीय छोरा सुजित शर्मा गम्भीर घाइते भएका छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। शर्माको जनकपुरधाममा उपचार भइरहेको छ।
त्यस्तै, स्कुटी चालक जनकपुरधाम उपमहानगरपालिका–१३ निवासी अरविन्द मण्डलका २१ वर्षीय छोरा समिर भनिने अभिषेक मण्डलको खुट्टा भाँचिएको छ। उनको अवस्था गम्भीर रहेको र गएराति करिब १ बजे थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ।
स्कुटीमा पछाडि सवार मिथिलाबिहारी नगरपालिका निवासी ब्रह्मदेव पासवानका २३ वर्षीय छोरा गौत्तम पासवान पनि गम्भीर घाइते भएका छन्। उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।
स्कुटीमा तीन जना सवार रहेकोमा अर्का एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय तारापट्टीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


