सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ स्थित कविलासी बजारमा इ–रिक्साको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
शनिबार साँझ नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत कविलासी बजारमा मधेस प्रदेश ०४–००१ ह ०६९७ नम्बरको इ–रिक्साले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६० वर्षीया स्वागवती ठाकुरको मृत्यु भएको हो।
नवलपुरबाट कविलासीतर्फ जाँदै गरेको इ–रिक्साले ठाकुरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले इ–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।


