स्थानीयका समस्या सुन्दै मन्त्री महतो, समाधानका लागि पहल गर्ने प्रतिबद्धता


सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही क्षेत्र नं. ४(ख) अन्तर्गत बलरा र गोडैता नगरपालिकामा भेटघाट तथा जनगुनासो सुनुवाइ कार्यक्रम गरेका छन्।

कार्यक्रममा मन्त्री महतोले स्थानीय नागरिक, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीयस्तरमा देखिएका समस्या तथा गुनासो सुनेका थिए। स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा शान्ति–सुरक्षालगायतका विषयमा आफ्ना समस्या र माग मन्त्रीसमक्ष राखेका थिए।

त्यस्तै, सञ्चार तथा कानुनसँग सम्बन्धित विषयमा समेत स्थानीयले ध्यानाकर्षण गराएका थिए। मन्त्री महतोले प्राप्त गुनासो तथा सुझावलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री महतोले जनताको प्रत्यक्ष सहभागितामा गुनासो सुन्ने प्रक्रियाले सरकार र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउने बताए। स्थानीय तहमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार