जनकपुरधाम ।सर्वोच्च अदालतले डा. सञ्जयकुमार ठाकुरलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवको जिम्मेवारीमा काम गराउन मधेश प्रदेश सरकारलाई पत्राचारसहित पुनः आदेश दिएको छ ।
अदालतको आदेश अवज्ञा गरेको भन्दै डा. ठाकुरले दिएको निवेदन हालका लागि स्थगन गरी अन्तरिम आदेश कार्यान्वयन गरेर जानकारी पठाउन सर्वोच्च अदालतले प्रदेश सरकारलाई पुनः पत्राचार गरेको हो । ठाकुरले मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका सचिवका रुपमा कार्यरत डा. प्रमोद यादवविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।
संघीय मन्त्रिपरिषदको २०८१ जेठ २४ गतेको निर्णय अनुसार मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बनेर आएका ठाकुरलाई सुरुमा हाजिर नै गर्न दिइएन । त्यस पछि अदालत गएका ठाकुरलाई सर्वोच्चको २०८१ असार २३ को अन्तरिम आदेशअनुसार हाजिर गराएपनि मन्त्रालयको कामकाज सचिव डा. प्रमोद यादवले नै गरिराखेका छन्।


