काठमाडौँ । लाखौँ ठगी गरेको आरोपमा पक्राउ परेका प्रतिवादी प्रहरी कार्यालयबाटै फरार भएका छन्। कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ३८ वर्षीय रामेश्वर पराजुली जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट भागेका हुन्।
मधेस प्रदेशका मन्त्रालयहरूबाट योजना मिलाइदिने भन्दै ठगेको आरोपमा सिरहा प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो। सिरहाको मुद्दा प्रक्रिया पूरा भएपछि उनलाई महोत्तरी बुझाइएको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रहेको मुद्दाको टुङ्गो लागेपछि अर्को कार्यालयमा बुझाउनुपर्ने प्रतिवादी प्रहरी कार्यालयबाटै सुटुक्क भाग्न सफल भएका हुन्। उनी फरार हुनुमा प्रहरीकै मिलेमतो रहेको आशङ्का गरिएको छ।
महोत्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघात कसुरमा पराजुलीमाथि अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। उनीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका–४ का दरवेश राय यादवले जाहेरी दिएका थिए। दुईवटा कसुरमा अदालतले उनलाई १५–१५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएको थियो।
अदालतले तोकेको धरौटी तिरेका रामेश्वरविरुद्ध काठमाडौँका दुईवटा प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो। उनीविरुद्ध प्रहरी वृत्त बौद्ध र गौशालामा दर्ता भएको जाहेरीमाथि अनुसन्धान गर्न बाँकी नै थियो। अनुसन्धानका लागि काठमाडौँ पठाउनुपर्ने प्रतिवादी जिल्ला प्रहरी कार्यालयबाटै फरार भएको महोत्तरीका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए।
पराजुलीलाई अनुसन्धानका लागि पठाइदिन भन्दै प्रहरी वृत्त बौद्ध र गौशालाले महोत्तरी प्रहरीलाई पत्राचार गरेका थिए। भदौ २२ गते महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि काठमाडौँ पठाउने प्रक्रिया मिलाउँदै गर्दा प्रहरीको आँखा छलेर उनी भागेको महोत्तरीका एसपी श्याम सारु मगरले बताए। उनले भने, ‘यसमा आन्तरिक छानबिन भइरहेको छ।’


