बालिका बन्धक तथा जबरजस्ती करणी प्रकरण : मुख्य अभियुक्त कारागार, वडाध्यक्ष धरौटीमा रिहा


जनकपुरधाम । जनकपुरका दुई होटलमा १६ वर्षीया बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्। घटनालाई २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

२३ वर्षीय राइनलाई धनुषा जिल्ला अदालतले भदौ २६ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको हो। वडाध्यक्ष कवारीलाई भने अदालतले सोमबार एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको प्रहरीले जनाएको छ।

राइन घटनापछि कतार पुगेका थिए। उनलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो। पीडित बालिकाको बयानका आधारमा प्रहरीले कवारीलाई समेत पक्राउ गरेको थियो।

दुई चरणमा भएको घटनाको अभियोग

धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकासँग सम्बन्धित घटनामा धनुषा जिल्ला अदालतमा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीसम्बन्धी दुईवटा मुद्दा दर्ता छन्। मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन व्यक्ति प्रतिवादी रहेको र अधिकांश फरार रहेको प्रहरीले जनाएको छ।

जाहेरीअनुसार पहिलो घटना २०८१ चैत २९ गते भएको थियो। आमा खेतमा गएको समयमा घरनजिकै पसल सञ्चालन गर्ने ताहिर राइनले विवाहको प्रलोभन देखाएर बालिकालाई अपहरण गरी जनकपुर ल्याएको र आफू तथा अन्य व्यक्तिबाट जबरजस्ती करणी गराएको आरोप छ। बालिका पछि त्यहाँबाट भाग्न सफल भएकी थिइन्।

बालिकाले उक्त घटनाबारे २०८२ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको बताइएको छ। तर जाहेरीमाथि समयमै अनुसन्धान अघि नबढेको र त्यसबीच राइन विदेश गएको पीडित पक्षको आरोप छ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख अधिवक्ता विदुर कार्कीले पहिलो घटनाको जाहेरी दर्ता तथा अनुसन्धानका लागि प्रहरीले समयमै काम नगरेका कारण दोस्रो घटना भएको देखिएको बताएका छन्। उनका अनुसार सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्न निर्देशन दिएर पटकपटक दबाब दिए पनि ढिलाइ भएको थियो।

पुनः अपहरणपछि १९ दिन होटलमा

पहिलो घटनापछि पुनः २०८२ असार १७ गते बिहान करिब ४ बजे बालिका अपहरणमा परेको जाहेरीमा उल्लेख छ। बाख्रा बाँध्न घरको दैलोबाट बाहिर निस्किएका बेला गाडीमा आएका अञ्जली महरासहित तीन जनाले कपडाले आँखा बाँधेर अपहरण गरेको पीडितको बयानमा उल्लेख छ।

बालिकालाई त्यसपछि जनकपुरको पिडारीचोकस्थित होटल सीएफसीमा लगिएको थियो। जाहेरीअनुसार त्यहाँ ताहिर राइनका भिनाजु फिरोज राइन आएर केही व्यक्तिलाई फोन गरेका थिए। त्यसपछि दुई जना प्रहरी जवान प्रहरी पोशाकमै होटलमा पुगेको पीडितले बयान दिएकी छन्।

पीडितका अनुसार ती प्रहरी जवानले ताहिरविरुद्ध दिएको जाहेरी फिर्ता लिन दबाब दिएका थिए। होटलमा दुई रात बन्धक बनाएर राखिएको र सो अवधिमा होटल सञ्चालक तथा ग्राहकबाट समेत जबरजस्ती करणी भएको जाहेरीमा उल्लेख छ।

पछि ती प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो रहेको खुलेको थियो। तेस्रो दिन बालिकालाई मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा लगिएको र त्यहाँ समेत आफूलाई प्रहरी बताउने व्यक्तिहरूले जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

जाहेरीमा २० गते प्रहरी पोशाकमै ‘राज’ नाम गरेका एक प्रहरी जवान होटलमा पुगेर मुद्दा फिर्ता लिन धम्की दिँदै जबरजस्ती करणी गरेको आरोपसमेत लगाइएको छ।

प्रहरीको भूमिकामाथि प्रश्न

घटनामा प्रहरीकै संलग्नता देखिएपछि अनुसन्धान तथा जाहेरी दर्ताको प्रक्रियामा धनुषा प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। सरकारी वकिल कार्यालयका अनुसार दोस्रो घटनाको जाहेरी दर्ताका लागि समेत विभिन्न निकायबाट प्रहरीलाई दबाब दिइएको थियो।

जाहेरी दर्ता गर्न ढिलाइ भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो लिएको थियो। आयोगले जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मीसहित पाँच प्रहरीसँग जवाफ तथा बयान लिएको जनाइएको छ। जबरजस्ती करणीमा संलग्न भनिएका प्रहरीको सनाखतका लागि समेत शंकास्पद प्रहरीलाई आयोगको कार्यालयमा बोलाइएको थियो।

आयोगको पहलपछि असारमा जाहेरी दर्ता भएको प्रहरी पक्षले जानकारी गराएको थियो। गम्भीर प्रकृतिको घटनामा धनुषा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले समेत घटनाबारे अनुसन्धान गरेको थियो।

महिला अधिकारकर्मीहरूले भने पीडितकी आमा र मामालाई प्रभावमा पारेर होटल सञ्चालक तथा केही व्यक्तिले घटना २० लाख रुपैयाँमा मिलाउने प्रयास गरेको आरोप लगाएका छन्। पीडितले भने आफूलाई भएको घटनामा दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग राख्दै आएको उनीहरूको भनाइ छ।

दबाबपछि प्रहरीले होटल सञ्चालक अजिज राइन, कामदार धीरजकुमार दास तथा प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

सुरक्षा तथा असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै पीडित बालिका घटनापछि सेफ हाउसमा बस्दै आएकी छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार