क्यानडामा शिख नेताको हत्या, भारतमाथि आरोप


एजेन्सी, असोज ३ । क्यानडाले एकजना शिख नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका छन् । भारतमाथि हत्या गरेको आरोप लगाउँदै एक जना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेका छन् ।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए ।

प्रधानमन्त्री ट्रुडोले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए ।

गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।

यसलगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् । ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनन् । यद्यपि देश निकाला गरिएका भारतीय कुटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको जनाइएको छ ।

बीबीसीले भने देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ पवन कुमार राय रहेको दाबी गरेको छ ।

भारतले भने क्यानडाको आरोपलाई खण्डन गरेको छ । यसकिसिमको आरोपलाई भारत सरकारले हस्याष्पदको संज्ञासमेत दिएका छ ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने क्यानडाभित्र कुनै पनि नागरिकको हत्या गराउन विदेशी सरकार संलग्न हुनु हाम्रो देशको सम्प्रभूताको उल्लंघन भएको बताए । उनले यो हत्याबारे अनुसन्धानका लागि भारतलाई दबाव दिने पनि बताएका छन् ।

क्यानडामा भारतीय मूलका १४ लाख बढी नागरिक छन् । यसमध्ये धेरैजसो शिख समुदायका नै छन् । क्यानडामा विपक्षी दल न्यू डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह रहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार