विराटनगर, भदौँ २१ । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिने भएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसोबाट रथयात्रा सुरु हुनेछ ।
५५ वर्षदेखि हुँदै आएको रथयात्रामा यस वर्ष पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । कोरोना महामारीका कारण दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिने गरिएको थियो ।
विराटनगर स्थित राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुने आयोजक समितिले जनाएको छ ।
वि.सं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ ।
रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै विभिन्न नगरका प्रमुख पनि सहभागी हुनेछन् । रथयात्रामा सहभागी हुन नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर आइसकेका छन् ।
आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राको शान्ति सुरक्षा तथा व्यवस्थापनका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताए । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।


