जनकपुरधाममा मंगलबारदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु


जनकपुरधाम, १७ माघ । जनकपुरधाममा मंगलबारदेखि ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’ सुरु भएको छ ।

हरिज स्पोर्टस जोनले स्थानीय रंगभूमी मैदानमा प्रतियोगिताको आयोजना गरेको हो ।

खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रुपमा गरेका थिए ।

उपप्रमुख साहले उपमहानगरले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई सुझावसमेत दिए ।

धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक १२ वटा विद्यालयहरूको सहभागिता रहेको जानकारी दिए ।

लिगको आधारमा भइरहेको प्रतियोगिताहरूमा जनकपुरधाम तथा आसपासका विद्यालयहरूले भाग लिएको उनले बताए । प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढि संख्या भए क्वालिफाईङ्ग प्रोसेसको आधारमा छनोट गरिने साहले जानकारी दिए ।

उनले बालबालिकालाई खेलप्रति रुची जगाउन र मानसिक तथा शारीरीक रुपमा मजबुत बनाउने उद्देश्यका साथै प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । भोलिको दिनमा क्रिकेट खेलमा बालबालिकालाई अवसरलाई प्रदान गर्नु पनि यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न भएपछि प्रतिभावान खेलाडीहरूको समुह बनाएर नियमित प्रशिक्षण दिइने आयोजक संस्थाको तयारी छ ।

 

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार