मधेश प्रदेश सभा सदस्य जैनब खातुनको निधन


जनकपुरधाम । मधेश प्रदेश सभा सदस्य जैनब खातुनको उपचारका क्रममा निधन भएको छ ।

रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सभा सदस्य रहेकी खातुनको बुधबार साँझ करिब ७ बजे वीरगन्जस्थित नेशनल मेडिकल अस्पतालमा निधन भएको हो ।

फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया निवासी ७० वर्षीया खातुनलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनको चिनी र युरिक एसिडको मात्रा अत्यधिक बढेको र उपचारकै क्रममा निधन भएको छोरा रोशन खानले जानकारी दिए ।

खानका अनुसार खातुनको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे रौतहटको दोस्तियास्थित पैतृक गाउँको कब्रगाहमा मुस्लिम रीतिरिवाजअनुसार गरिनेछ ।

खातुनको निधनप्रति दुःख व्यक्त गर्दै मधेश प्रदेश सभा सचिवालयले शोक सन्देश जारी गर्ने तयारी गरिरहेको सचिव वासुप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार