जनकपुरधाम । धनुषामा प्रहरीले स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
धनुषाको धनौजी गाउँपालिका–२ स्थित भारतीय सीमा हरिने हुँदै धनुषाधाम जाने सडकखण्डअन्तर्गत गोरदाहा–देउरीको बीचमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक (असई) मिश्रको नेतृत्वमा खटिएको गस्ती टोलीले शंका लागेर मोटरसाइकल चेकजाँच गर्ने क्रममा भारतको सीमावर्ती जिल्ला मधुबनी, खौना घर भएका करिब ३५ वर्षीय राधाकान्त बयारलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बयारको कमरमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको १३ लाख ६५ हजार नेपाली रुपैयाँ नगद फेला परेको थियो । रकमसँगै प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
बयारलाई नियन्त्रणमा लिएर बरामद रकमको स्रोत तथा घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


