जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका कार्यालयमा बुधबार केही व्यक्तिले प्रवेश गरी नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा हातपात तथा कार्यालय परिसरमा तोडफोड गरेको आरोप लगाइएको छ । घटनापछि नगरपालिकाका कर्मचारीले जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
नगरपालिकाका कर्मचारीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार बिहान करिब ११ः३० बजे केही व्यक्ति समूहमा नगर प्रमुखको कार्यकक्षमा प्रवेश गरेका थिए । त्यस क्रममा नगर प्रमुखमाथि हातपात र अभद्र व्यवहार गर्नुका साथै कार्यालय परिसरमा तोडफोड गरिएको विज्ञप्तिमा उल्लेख छ । घटनाका क्रममा अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत हातपात भएको जनाइएको छ ।
कर्मचारीहरूले गुनासा, असमझदारी वा विवादको समाधान संवाद, विधिको शासन तथा कानुनी प्रक्रियामार्फत गरिनुपर्ने बताएका छन् । कार्यालयमै प्रवेश गरी जनप्रतिनिधि तथा कर्मचारीमाथि हातपात गर्नु तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नु गम्भीर विषय भएको उनीहरूको भनाइ छ ।
घटनाका कारण कार्यालयको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा जनप्रतिनिधि र कर्मचारीको सुरक्षामाथि प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । घटनाले सेवाप्रवाहमा खटिएका कर्मचारीको मनोबलमा समेत असर परेको कर्मचारीहरूले बताएका छन् ।
कर्मचारीहरूले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । साथै, तोडफोडबाट सार्वजनिक सम्पत्तिमा भएको क्षतिको कानुनबमोजिम सम्बन्धित पक्षबाट भरपाई गराउन पनि माग गरिएको छ ।
घटनापछि जनप्रतिनिधि तथा कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नगरपालिकाले घटनाबारे जानकारी गराउँदै आवश्यक कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई समेत बोधार्थ पठाएको जनाएको छ ।



