घरबाटै युवक लगिएको भन्दै प्रहरी चौकी घेराउ


सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै अपहरण गरिएको आरोप लगाउँदै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्।

सोमबार राति करिब १२ बजे ६–७ जनाको समूह घरमा आएर परिवारका सदस्यलाई पेस्तोल देखाउँदै सुतिरहेका अभिनन्दलाई नियन्त्रणमा लिएर लगेको उनका काका अमोद यादवले बताए।

घटनाबारे प्रहरीलाई जानकारी गराउँदा पनि तत्काल सुनुवाइ नभएको भन्दै आक्रोशित आफन्त तथा स्थानीयवासीले मंगलबार बेल्हीस्थित प्रहरी चौकी घेराउ गरेका हुन्। उनीहरूले अभिनन्दको तत्काल खोजी गरी उनको अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई अपहरणको शैलीमा लगिनु गम्भीर विषय भएको बताए। उनले अभिनन्दको तत्काल खोजी गरी घटनाबारे परिवारलाई जानकारी गराउन सप्तरी प्रहरीसँग आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले अभिनन्दको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको छ।

यद्यपि, उनलाई भारतीय प्रहरीले नै नियन्त्रणमा लिएको विषयमा आधिकारिक पुष्टि भइनसकेको प्रहरीले जनाएको छ। पेस्तोल बोकेको समूह घरमा आएको भन्ने विषयमा भने प्रहरीलाई जानकारी नभएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

सप्तरी प्रहरीले भारतीय पक्षबाट भएको भनिएको नियन्त्रण तथा घटनाको वास्तविकताबारे थप विवरण प्राप्त गर्न समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार