धनुषाका चारजना सहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त


जनकपुरधाम । राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेको हो।

आयोगले २०८३ भदौ ३० गते गरेको निर्णयअनुसार भदौ ३१ गते सूचना प्रकाशित गर्दै १० जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिले दल त्यागसम्बन्धी जानकारी आयोगलाई गराएपछि आयोगले पद रिक्त भएको निर्णय गरेको हो।

पद रिक्त हुनेमा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित जनप्रतिनिधि रहेका छन्।

धनुषाको शहीदनगर नगरपालिका–८ का वडाध्यक्ष तनुकलाल कुसियैत र विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। त्यस्तै, धनुषाकै कमला नगरपालिका–५ का वडाध्यक्ष शीवा पासमान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष विहारी महतो कोडरी नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका थिए।

यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुबलराज राई, दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मरिजबहादुर खड्का, कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, दोलखाको जिरी नगरपालिका–३ का वडाध्यक्ष खेटराज घिमिरे तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पद पनि रिक्त भएको आयोगले जनाएको छ।

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सर्वसाधारण तथा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको हो।

May be an image of text

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार