जलेश्वर । जलेश्वर–२ स्थित मदरसा सैईदा फातीमा लिल्वेनात कानुनी दर्ता, निरीक्षण तथा स्वीकृतिबिना सञ्चालन भइरहेको दाबी गर्दै हिन्दू सम्राट नेपाल महोत्तरीले छानबिन तथा कारबाहीको माग गरेको छ।
हिन्दू सम्राट नेपाल महोत्तरीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्र बुझाउँदै उक्त मदरसाको सञ्चालनबारे आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरेको हो।
ज्ञापनपत्रमा जलेश्वर–२ स्थित मदरसा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको दाबी गर्दै त्यसलाई बन्द गरी आवश्यक कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। मदरसामा रहेका विदेशी व्यक्तिहरूको समेत विस्तृत छानबिन गर्न प्रशासनसँग आग्रह गरिएको छ।
विदेशी प्रभाव वा अन्य अवैध गतिविधि पुष्टि भएमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ। साथै बाल अधिकार, शिक्षा, सामाजिक सद्भाव तथा राष्ट्रिय सुरक्षाको विषयलाई ध्यानमा राख्दै प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने हिन्दू सम्राट नेपालको भनाइ छ।
हिन्दू सम्राट नेपालले महोत्तरी जिल्लामा सञ्चालित सबै दर्ता प्राप्त तथा दर्ताविहीन मदरसाको सूची तयार गरी उच्चस्तरीय अनुगमन समिति गठन गर्नसमेत माग गरेको छ। दर्ता नगरी मदरसा सञ्चालन गर्ने, विदेशी प्रभाव वा घुसपैठमा संलग्न हुने तथा बालबालिकाको भविष्यमा असर पर्ने गतिविधि गर्ने जोसुकैमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी जिल्लाभरका मदरसामा हुने आर्थिक स्रोत तथा फन्डिङ, पाठ्यक्रम, शैक्षिक तथा अन्य गतिविधि र कर्मचारी नियुक्तिसम्बन्धी विषयमा निगरानी तथा छानबिन गर्न पनि प्रशासनसमक्ष माग गरिएको छ।
यद्यपि, मदरसा सैईदा फातीमा लिल्वेनातले कानुनी दर्ता तथा स्वीकृति नलिई सञ्चालन भइरहेको भन्ने आरोपबारे सम्बन्धित मदरसा वा शिक्षा तथा प्रशासनिक निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।



