वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष झाले सम्हाले पदभार


जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष कौशल किशोर झाले सोमबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष झाले जनकपुरधामको पौराणिकताको पहिचान संरक्षण गर्दै परिषद्को उद्देश्यअनुसार काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले परिषद् गठन भए पनि व्यवस्थापकीय कमजोरी तथा विभिन्न निकायबीच समन्वयको अभाव देखिएको बताए । यस्ता कमजोरीलाई सुधार गर्दै परिषद्को कामलाई विवादरहित ढंगले अघि बढाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।

परिषद्का सदस्य अजित मिश्रले संस्थामाथि लागेको भ्रष्टाचारको आरोप तथा नकारात्मक छवि हटाउन आफूहरूले पहल गर्ने बताए । उनले लामो समयदेखि रोकिएको कर्मचारीको तलब भुक्तानी गराउनु आफ्नो प्राथमिकतामध्ये एक रहेको बताए ।

मिश्रका अनुसार परिषद्का कर्मचारीहरूले विगत ३२ महिनादेखि तलब पाउन सकेका छैनन् । कर्मचारीको रोकिएको तलब यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने उनले बताए ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् लामो समयदेखि विवादमा रहँदै आएको छ । निवर्तमान अध्यक्ष र परिषद्का कर्मचारीबीचको विवादका कारण निवर्तमान अध्यक्षको कार्यकाल नै विवादित बनेको थियो । विवादका कारण उनले अपेक्षित रूपमा काम गर्न नसकी कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

यस अवधिमा परिषद्का कर्मचारीको ३२ महिनाको तलबसमेत वितरण हुन नसकेको बताइएको छ । नवनियुक्त अध्यक्षले पदभार ग्रहण गरेसँगै परिषद्मा देखिएका व्यवस्थापकीय समस्या समाधान, समन्वय सुधार तथा कर्मचारीको तलब भुक्तानीको विषयलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार