पोखरी क्षेत्रमा अतिक्रमण हटाउन थप १५ दिनको समय


जनकपुरधाम । गुठीका पोखरी तथा पोखरीका डिलमा निर्माण गरिएका अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई थप १५ दिनको समय दिइएको छ ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ लगायत विभिन्न प्रतिवेदनले औँल्याएका अतिक्रमित पोखरीमध्ये पहिलो चरणमा केही पोखरी खाली गरिएपछि बाँकी पोखरीलाई चरणबद्ध रूपमा अतिक्रमणमुक्त गर्ने अभियानअन्तर्गत थप समय दिइएको हो ।

यसअघि भदौ १९ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत संरचना आफैँ हटाउन भनिएको थियो । सोहीअनुसार भदौ २७ गते अतिक्रमित संरचना हटाउने कार्य तय गरिएको थियो ।

तर अनुगमनका क्रममा सम्बन्धित व्यक्तिहरूले संरचना आफैँ हटाउन सुरु गरेको र थप समय माग गरेपछि कार्यान्वयन समितिले १५ दिनको अतिरिक्त समय दिएको गुठी संस्थानले जनाएको छ ।

थप समय दिइएका पोखरीमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गोन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जीरो माइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड रहेका छन् ।

गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार रेखाङ्कन गरिएका पोखरी तथा पोखरीका डिलमा रहेका संरचनाको अनुगमन गर्दा सम्बन्धित व्यक्तिहरूले आफैँ संरचना हटाउन थप समय माग गरेपछि उनीहरूको मागलाई ध्यानमा राखेर समय थप गरिएको हो ।

कतिपय संरचनाको आधा भागसम्म हटाउनुपर्ने अवस्था देखिएको र तत्काल हटाउँदा थप क्षति हुन सक्ने भएकाले सम्बन्धित व्यक्तिलाई आफैँ संरचना हटाउन समय दिइएको प्रवक्ता पोखरेलले बताए ।

“यसअघि पनि नक्सांकन गरी केही संरचना हटाइएको थियो,” उनले भने ।

थप गरिएको समयभित्र अतिक्रमित संरचना पूर्णरूपमा नहटाए कार्यान्वयन समितिले आफैँ संरचना हटाउने जनाएको छ । संरचना हटाउन थप १५ दिन समय दिइएको जानकारी कार्यान्वयन समितिका सदस्यसचिवसमेत रहेका संस्थानका प्रवक्ता पोखरेलले भदौ २७ गते जारी गरेको सूचनामार्फत गराएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार