बजेट बाँडफाँटमा कुरा नमिल्दा बटेश्वरको बजेट पारित हुन सकेन


जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बित्न लाग्दा पनि बजेट पारित गर्न सकेको छैन। गाउँपालिकाले गत १० असारमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरे पनि जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा सहमति जुट्न नसक्दा बजेट पारित हुन नसकेको हो।

बजेट पारित नहुँदा गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ भने नियमित कामकाजसमेत प्रभावित भएको छ। बिग्रिएको एम्बुलेन्स मर्मत गर्नसमेत बजेट अभावका कारण समस्या भएको गाउँपालिकाले जनाएको छ।

बटेश्वरमा एक जना वडाध्यक्षबाहेक अध्यक्षदेखि वडासदस्यसम्म अधिकांश जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित छन्। जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्ष भएकाले बढी बजेट आफ्नो वडा तथा क्षेत्रका लागि छुट्याउने विषयमा देखिएको विवादले बजेट प्रक्रिया प्रभावित भएको हो।

२०७९ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल अब केही महिनामात्र बाँकी छ। यही कारण चालु आर्थिक वर्षमा आफ्नो क्षेत्रका लागि बढी बजेट पार्ने होड चलेको जनप्रतिनिधिहरू बताउँछन्। विगतमा वडाहरूका लागि करिब एक करोड रुपैयाँसम्म बजेटको सीमा निर्धारण हुँदै आएको थियो। तर यसपटक संघीय सरकारबाट समानीकरण अनुदानबापत करिब ९ करोड रुपैयाँ मात्रै प्राप्त भएकाले बजेट बाँडफाँटमा समस्या भएको गाउँपालिका अध्यक्ष रामअशिष महतोले बताए।

अध्यक्ष महतोका अनुसार सुरुमा वडाहरूका लागि ४० लाख रुपैयाँको बजेट सिलिङ तोकिएको थियो। तर वडाध्यक्षहरूले विगतकै अभ्यासअनुसार एक करोड रुपैयाँसम्म बजेट माग गरेपछि विवाद उत्पन्न भएको हो। लामो छलफलपछि अहिले प्रत्येक वडाका लागि ६५ लाख रुपैयाँ छुट्याउने सहमति भएको उनले बताए।

‘बजेट पारित नहुनुको कारण वडाको सिलिङ नमिलेको हो। वडाले एक करोड मागिरहेका थिए। अहिले ६५ लाखमा कुरा मिलिसकेको छ,’ अध्यक्ष महतोले भने, ‘अब उपाध्यक्ष र कार्यपालिका सदस्यबीच बजेट सिलिङ मिलाउन बाँकी छ। त्यसपछि बजेट पारित हुन्छ।’

उनका अनुसार वडाका लागि छुट्याइएको ६५ लाख रुपैयाँमध्ये ६० लाख पुँजीगत र पाँच लाख रुपैयाँ चालु खर्चअन्तर्गत सञ्चालन खर्च व्यवस्थापनका लागि छुट्याउने सहमति भएको छ।

गाउँपालिकाले प्राप्त गर्ने ९ करोड रुपैयाँ समानीकरण अनुदानमध्ये करिब पाँच करोड रुपैयाँ क्रमागत योजना तथा विगतका दायित्वमा खर्च हुने भएकाले बाँकी करिब चार करोड रुपैयाँबाट विभिन्न पक्षको बजेट सिलिङ व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अध्यक्ष महतोले बताए।

यसैबीच केही जनप्रतिनिधिले भने गाउँपालिकाका कर्मचारीले जनप्रतिनिधिबीचको विवादलाई लम्ब्याएर बजेट पारित गर्न ढिलाइ गरिरहेको आरोप लगाएका छन्। जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले विवाद लम्ब्याएर पछि कर्मचारीले आफूखुसी बजेट सञ्चालन गर्ने अवस्था बनाउन खोजेको उनीहरूको दाबी छ।

तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलले कर्मचारीको त्यस्तो कुनै नियत नरहेको बताएका छन्। जनप्रतिनिधिबीच बजेट सिलिङमा सहमति हुन नसक्दा मात्रै बजेट पारित हुन ढिलाइ भएको उनको भनाइ छ।

‘जनप्रतिनिधिबीचमै बजेट सिलिङको कुरा नमिलेका कारण बजेट पारित हुन नसकेको हो। कर्मचारीले खेलाएर समय बिताउने र आफूखुसी बजेट चलाउने कुनै नियत छैन,’ पौडेलले भने।

उनका अनुसार समानीकरण अनुदान, ससर्त अनुदान तथा अन्य अनुदानसमेत जोड्दा बटेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ बराबरको बजेट पारित गर्न सक्ने अवस्था छ। तर बजेट पारित हुन नसक्दा उक्त बजेटअन्तर्गतका योजना तथा कार्यक्रम कार्यान्वयनमा जान सकेका छैनन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार