जनकपुरधाम । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले ‘९ दलीय अग्रगामी मोर्चा’मा आबद्ध दलहरू आगामी निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बताएका छन्।
जनकपुरधाममा मोर्चाको मधेस प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले अहिले मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी भइरहेको जानकारी दिए।
उनले निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने तयारीसँगै आगामी दिनमा मोर्चामा आबद्ध दलहरूबीच स्थायी राजनीतिक एकता कायम गर्ने योजना पनि रहेको बताए।
अन्सारीले मोर्चालाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी राजनीतिक शक्तिका रूपमा अघि बढाउने तयारी भइरहेको बताए।
जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध छन्।
मोर्चाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा राजनीतिक कार्यक्रमलाई तीव्रता दिने तयारीसमेत गरेको जनाएको छ।


