काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै एसिया कपमा स्थान सुरक्षित गरेको हो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल बनाएको थियो। नेपालका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको दोस्रो शतक हो।
गुल्शन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रनको योगदान दिए।
आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरेका थिए। त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपालको बलियो योगफलको आधार तयार पारे।
यूएईका इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले १–१ विकेट लिए।
नेपालले यसअघि सन् २०२३ को एसीसी प्रिमियर कपको फाइनलमा पनि यूएईलाई पराजित गरेको थियो। शनिबारको जितसँगै नेपालले लगातार यूएईलाई फाइनलमा हराउँदै प्रिमियर कपको उपाधि जितेको हो।


