जलवायु परिवर्तनको विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्छ : प्रचण्ड


जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका संयोजक दाहालले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै हिमाल पग्लिने विषय वातावरणीय समस्या मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले आफू दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा जलवायु परिवर्तन र हिमाल पग्लिने विषयलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाएको स्मरण गर्दै अहिले पनि यस विषयमा थप प्रभावकारी पहल आवश्यक रहेको बताए ।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाएँ,” दाहालले भने, “यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।”

जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उनको भनाइ थियो । यसको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता तथा समग्र अर्थतन्त्रमा समेत क्रमशः देखिन थालेको उनले बताए ।

यसैगरी दाहालले भोटेकोशी नदीमा बाढी आएका बेला सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सरकारले अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिएर कामलाई तीव्रता दिन नसक्नु कमजोरी भएको टिप्पणी गरे ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको तत्काल प्रयोग गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सके धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको भए पनि सरकारले त्यसतर्फ पर्याप्त पहल गर्न नसकेको उनको गुनासो थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार