भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, एक मिनेट मौनधारण


महोत्तरी । नेपाल सरकारले देशभर शोक दिवस मनाउने क्रममा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति मटिहानी नगरपालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ।

मटिहानी नगरपालिकाको आह्वानमा आज बिहान ११ बजे नगर क्षेत्रका विभिन्न स्थानमा एक मिनेट मौनधारण गरी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो।

नगरपालिकाको आह्वानअनुसार नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय, मदरसा, सार्वजनिक स्थललगायत विभिन्न स्थानमा रहेका नागरिक तथा कर्मचारीहरूले आफू जहाँ भए पनि सोही स्थानमा उभिएर एक मिनेट मौनधारण गरेका थिए। मौनधारणका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।

मौनधारणका क्रममा दैनिक कामकाजसमेत केही समयका लागि स्थगित गरिएको थियो। सरकारी कार्यालय, विद्यालय, मदरसा तथा अन्य सार्वजनिक स्थलहरूमा समेत एक मिनेटका लागि नियमित गतिविधि ठप्प गरी मृतकहरूप्रति सम्मान प्रकट गरिएको कुरा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बताउनुभयो।
यसैगरी, शोकको प्रतीकस्वरूप मटिहानी नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार