विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान


जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा आएको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक तथा दलीय मतभेद त्यागेर सबै पक्ष एकजुट हुन आह्वान गरेका छन्।

जनकपुरधाममा आयोजित लायन्स क्लबको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

हालै आएको बाढीपहिरोका कारण मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै निधिले रसुवाको नेत्रवती, ढुङ्गे बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस बनाएको बताए।

विपद् व्यवस्थापनका तीन चरण उद्धार, राहत र पुनर्निर्माण रहेको उल्लेख गर्दै उनले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमित स्रोतसाधनका बाबजुद विपद्को समयमा प्रशंसनीय काम गरेको भन्दै निधिले सुरक्षा निकायको योगदानको प्रशंसा गरे। साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराएको सहयोगप्रति उनले आभार व्यक्त गरे।

‘हामीले अहिलेसम्म यति ठूलो विपत्ति बेहोरेका थिएनौं । यस्तो बेला जात, वर्ण, लिंग, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ,’ निधिले भने।

जलविद्युत् क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले हाइड्रोपावर आयोजनामा कार्यरत कर्मचारीको ज्यान जानुका साथै महत्वपूर्ण भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए।

निधिले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि राज्यका सबै निकाय, राजनीतिक दल तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार