मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा दीप प्रज्वलन


जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा जनकपुरधामको जनकचोकमा रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ।

२०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै सहभागीहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए।

‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको सुरक्षित प्रयोग, नागरिक सचेतना र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिका धनुषा अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका सभामुख रामआशीष यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण साहनी, इन्सेक मधेस संयोजक राजु पासवान, एम्नेस्टी इन्टरनेसनल नेपाल जनकपुरधामका अध्यक्ष मनिष झा श्रीओम, माइती नेपाल धनुषाका संयोजक पुरुषोत्तम यादव, महिला अधिकारकर्मी रेखा झा, वरिष्ठ पत्रकार कैलाश दास, कायापलट संस्थाका कार्यकारी निर्देशक दिवाकर उप्रेतीलगायत अधिकारकर्मी तथा विभिन्न सरोकारवालाको उपस्थिति थियो।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि राज्य, नागरिक समाज, सञ्चारमाध्यम तथा समुदायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार