वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित सात जनालाई प्रहरीले वीरगञ्जको गण्डकस्थित एक रिसोर्टमा सञ्चालित क्यासिनोबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट अध्यक्ष यादवसहित सात जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार यादव गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो चढेर क्यासिनो पुगेका थिए । सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न प्रतिबन्ध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष सरकारी सवारीसाधनसहित क्यासिनोमा कसरी प्रवेश पाए भन्ने विषय अनुसन्धानको क्रममा रहेको बताए ।
पक्राउ परेका अध्यक्ष यादवसहित सातै जनाको विवरण अदालतबाट म्याद थप गरेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।


