सर्लाही । चाडपर्व नजिकिँदै गर्दा सर्लाहीमा चिनीसहित दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्न थालेको छ। बजारमा खाद्यान्नको भाउ बढेपछि न्यून आय भएका उपभोक्ता थप मारमा परेका छन्।
सर्लाहीका मुख्य बजार मलङ्गवा, हरिवन, बरहथवा, बयलवास र लालबन्दीलगायतका क्षेत्रमा अहिले चिनीको मूल्य प्रतिकेजी १४० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताएका छन्। चिनीका साथै खाने तेल, चामललगायत अन्य खाद्यवस्तुको मूल्यसमेत बढेको उनीहरूको गुनासो छ।
पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका सेख जमसैदले भारतीय बजारबाट खाद्यान्न ल्याउन प्रहरीले कडाइ गरिरहेको अवस्थामा नेपाली बजारमा भने खाद्यान्नको मूल्य निरन्तर बढिरहेको गुनासो गरे ।
ईश्वरपुर नगरपालिका–७, बयलवासका रामनरेश महतोले भोटेकोशी बाढीपछि चीनसँगको नाका बन्द रहेको तथा केही महिनादेखि भारतबाट सामान ल्याउन कडाइ गरिएको कारण देखाउँदै व्यापारीले खाद्यान्नको मूल्य बढाउन थालेको बताए ।
चाडपर्वको समयमा खाद्यान्न अझ महँगो हुने चिन्ता सर्वसाधारणमा बढेको छ। ग्यासको अभाव क्रमशः कम हुँदै गएको अवस्थामा चिनीसहित दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा न्यून आय भएका परिवार बढी प्रभावित हुने लालबन्दी नगरपालिका–६, जनवादी चोकका राजन पोखरेलले बताए।
यता, सर्लाही प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गर्ने तयारी गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले संकटको समयमा कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने बताए।
उनले कसैले कालोबजारी गरेको वा अस्वाभाविक मूल्य असुलेको पाइए तत्काल स्थानीय प्रशासनलाई सूचना दिन उपभोक्तालाई आग्रह गरेका छन्। सूचना प्राप्त भएलगत्तै अनुगमन टोली परिचालन गरी दोषीमाथि हदैसम्मको कारबाही गरिने उनको चेतावनी छ।
स्थानीय प्रशासनले विपत्तिको समयमा राहत तथा सहयोगमा जुट्नुपर्ने भएकाले व्यापारी, उद्योगी तथा व्यवसायीलाई कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि नगर्नसमेत आग्रह गरेको छ।


