जनकपुरधाम । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।
नेपाली सेनाका अनुसार आज भदौ १९ गते साँझ ७ बजेसम्म नेपाली सेनाका ७ तथा गैरसैनिक ६ वटा हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको हवाई उद्धार गरिएको छ।
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारका क्रममा नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएकालाई हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी लगेर उपचार भइरहेको छ। सोही क्रममा सुरुङबाट एक शव निकालिएको र थप खोजी जारी रहेको सेनाले जनाएको छ।
त्रिशूली–३ बी आयोजनामा पनि संयुक्त उद्धार टोलीले कार्यालय तथा आवास क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरेको छ। हालसम्म केही फेला नपरे पनि त्रिशूली–३ एसँग जोड्न एक्स्काभेटरमार्फत करिब ७ सय मिटर बाटो सफा गरिएको छ।
त्यस्तै, लाङटाङ हाइड्रोपावरको सुरुङभित्र दुई शव फेला परेको छ। नेपाली सेना र गैरसैनिकसहितको टोलीले थप खोजी गरिरहेको छ। चिलिमे हाइड्रोपावरमा जेनेरेटर र मड पम्पको प्रयोग गरी सुरुङभित्रको लेदो हटाउने काम भइरहेको छ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले र्याफ्ट र बोटको प्रयोग गरी खोजी गरिरहेको छ। सुरुङभित्र जम्मा भएको पानी निकाल्ने कामसमेत भइरहेको छ।
यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली परिचालन गरिएको छ। ५५ सदस्यीय टोलीले पुल जडानका लागि आधार निर्माण गरिरहेको छ। गजुरीमा रहेको एक्रो ब्रिजका केही सामग्री त्रिशूली पुर्याइसकिएको र थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा समेत नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार गरिरहेको छ। चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।


