जनकपुरधाम । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सूचना जारी गरेको छ।
गुठी संस्थानले प्रकाशित गरेको सूचनामा राजगुठीअन्तर्गतका देवान पोखरी (चन्द्रकूप), मध्यमासर, रत्नमणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरो माइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा पोखरीका डिलमा अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण तथा भोगचलन भइरहेको जनाएको छ।
गुठी संस्थानका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले पोखरी र पोखरीका डिलमा अनधिकृत रूपमा अतिक्रमण गरी संरचनासमेत निर्माण गरेर भोगचलन गरिरहेको देखिएकाले त्यस्ता अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरिएको हो।
संस्थानले सूचनामार्फत सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र पोखरी तथा पोखरीको डिलमा गरिएको अनधिकृत अतिक्रमण हटाउन निर्देशन दिएको छ।
तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत गुठी संस्थानले दिएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको गुठी संस्थानले जनाएको छ।



