जनकपुरधाम । मधेश प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको राहत सामग्री मंगलबार पठाउने निर्णय गरेको छ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री पठाउने निर्णय गरेको हो।
बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विस्थापित परिवारको व्यवस्थापनका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग र समन्वयबारे छलफल भएको मन्त्री महतोले जानकारी दिए।
मन्त्री महतोका अनुसार दोस्रो चरणमा ७ हजार थान कम्बल र ७ सय थान अस्थायी आवासका लागि टेन्ट पठाइनेछ। बाढी प्रभावितलाई तत्काल आवश्यक राहत उपलब्ध गराउँदै आगामी दिनमा थप सहयोगका लागि पनि प्रदेश सरकारले समन्वय गर्ने उनले बताए।
“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन थालेको हो। पहिलो चरणमा ५५ लाख रुपैयाँ पठाइएको थियो भने दोस्रो चरणमा कम्बल र टेन्ट पठाउने निर्णय भएको छ,” मन्त्री महतोले भने।
उनका अनुसार भोटेकोशी बाढीपीडितका लागि आगामी दिनमा थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा मंगलबार पुनः बैठक बसेर छलफल गरिनेछ।
बैठकमा विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएकाले राहत तथा उद्धारका कार्यलाई प्रभावकारी, व्यवस्थित र आवश्यकतामा आधारित रूपमा अघि बढाउने विषयमा जोड दिइएको थियो।
बैठकमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका पदाधिकारी तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।


