काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका विभिन्न स्रोत सामग्री तयार गरेको छ। लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली तथा मतदान प्रणालीलगायत विषय समेटेर सामग्री तयार गरिएको आयोगले जनाएको छ।
त्यसैगरी, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली र राजनीतिक दलको भूमिकाबारे पनि स्रोत सामग्रीमा समावेश गरिएको छ। नागरिकलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिन सहयोग पुग्ने उद्देश्यले ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ तयार गरी आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार उक्त सामग्रीका आधारमा सरकारी निकाय, नागरिक समाज, शैक्षिक संस्था तथा सम्बन्धित व्यक्तिहरूले नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।
आयोगले फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी र तीव्र बनाउने तयारीसमेत गरेको जनाएको छ।


