हल्का लाठी चार्ज HLC


नित्यानन्द मण्डल
आज लाठीकै कुरा गरौं । भनिन्छ जिसकी लाठी, उसकी भैंस । हिन्दुले महावीर झण्डामा र शेख, सैयद वाहेकका मुस्लिमहरुले मोहर्रम्म(दाहा)मा लाठी भाँज्ने गर्छन् । हिजोआज त्यो खेल पनि प्रायश हराएकै छ । काइदाका खेल खेल्ने उस्ताद, मस्त मस्तान, मौलाका जमात, पुस्ता र जमाना नै गयो ।
खेल्नेहरु आज पनि खेल्छन्,तर त्यसमा कुनै कलात्मकता हुँदैन्, काइदा, कानून हुँदैन् । पिओर लोकल ठर्रा टन्नै खाएर टिकटकमा रमाए झैं हुरदंग, हुन्ड जस्तै खेल्ने गरेको पाइन्छ । हेर्नेहरुको उतिसाह्रो भीडभाड, घुँइचो पनि हुँदैन् । पहिला पहिला गाउँका ठुलाठालु जमिन्दारहरुले पनि पठ्ठा पोस्ने गर्दथे । उनीहरुले पनि मालिकको विपक्षीको विरुद्धमा खूबै लाठी चम्काउँथे ।
यस्ता यस्ता जावीर लठैत खलिफाहरु हुन्थे जो चैरगोरवा चौकी पनि भाँजेर सयौंको संख्यामा ढुंगामुढा गर्नेहरुको पनि घोललाई चिर्दै भाग्न सफल हुन्थे, हाम्रा गाउँमा पनि थिए सौखीलाल, उनी भारत विहारका थिए । एक बाल्टिन दुध निमिटान्न पार्दथे खडा भएर नै । बहुदल पछि हाम्रा गाउँमा लोहनाका एक जना साह थरका लाठी सिकाउने आएका थिए । उनको पनि टेक्नीक, डेढहत्थी लाठी, तीन डेग पछाडि हट्ने अनि स्वाटै हान्ने लगायतका दाउपेँचहरुका मामिलामा माहिर थिए उनी । त्यतिबेलाका केहि यूवकहरुले सिके पनि ।
दशैंमा लाठी काटिने गरिन्थ्यो । बाधबोन, चौरी चाँचर, खेतखरिहान जानलाई लाठीको प्रयोग गरिन्थ्यो । बुढापाकाहरुको डुलफिर गर्ने सहारा पनि लाठी नै हुने गर्दथ्यो । हाम्रा गाउँमा पनि एकसे एक खलिफा र उस्तादहरु थिए । पञ्चायतकालामा हेमबहादुरमल्लहरुले पनि लठैत पोस्थे । लठैत लिएर चुनावी प्रचार प्रसार गर्थे । जो जति समांगबाला हुन्थे, उनी त्यति नै लठिया कुँवर कहालिन्थे ।
यसवीच विभिन्न आन्दोलनहरुमा पनि लाठीको खूबै प्रयोग हुने गरेको पाइयो । प्रहरी र प्रदर्शनकारीले पनि प्रयोग गर्न थालेपछि मिडियाले सहजै प्रयोग गर्ने नै भए । हुँदाहुँदै अँग्रेजी डिक्सनरीले पनि लाठीलाई आफ्नो शब्द भण्डारमा समेट्यो लाठी चार्जलाई पनि स्थान दियो । मधेश आन्दोलनमा पनि यसको प्रयोग उल्लेखनीय नै भयो । पच्छिलो चरणमा लाठी भन्दा पनि बाँसका फराठालाई चिरेर भाटा बनाएर गाउँ नगरमा प्रदर्शन गर्न थालिएको छ । भनिन्छ, यसको निरन्तरता अब डा.सीके राउतका कार्यकर्ताहरुले पनि गर्न थालेका छन् । जुन यो लाठीभन्दा पनि खतरनाक हुन् सक्छ, यदि टाउकोमा लाग्यो भने र बरमण्ड नै फोड्न सक्ने ठाउँको ठाउँ मान्छे ठहरे पनि हुन् सक्छ । यो चिर्दाखेरी नै बमको जस्तो आवाज दिन्छ ।
यसरी पर्व,तिहार, चाडबाड, संस्कार, संस्कृति, जीवनशैली, पद्धतिमा रहेका लाठी आजभोली राजनीति सरगर्मी ल्याउनमा पनि प्रयोग हुन् थालेको छ । पहिलाका मधेशका घरेलु हातहतियार तेल पिलाएर पोसेको लाठी, भला,गराँस,फोरसा, तरबार, क्रिच, बरछा, बरहम आजभोलिका केटाकेटीहरुले हेरेका पनि छैनन् । लाठी पछि जनकपुर क्षेत्रमा जिरोकराँटे, ताइकाण्डो, सितौरी, सिकागो सबै हराए । अकौरा र झिझाबालहरु सिक्सर, थ्रिनट थ्री, भरुवा बन्दुक प्रयोग गर्दथे ।
माओवादी र जनतान्त्रिक मोर्चाहरुले माउजर, कुकर, स्केट, विदेशी हातहतियार पनि प्रयोग गरेको हामीले सुनेकै छौं । अब आयो प्रविधि र मिडियाको प्रयोग गरेर दुश्मनलाई पछार्ने युग, यस्तो अवस्थामा हामी कहाँ छौं ? यसरी हेर्दा तराई मधेश वा मिथिलाका संस्कृति हो लाठी त? एकचोटि यसबारे पनि बहस गर्ने की ?

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार