
वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउण्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय अमेरिकी राष्ट्रपतिमा अघिल्लो हप्ता मात्र पुनरागमन गरेका ट्रम्पले इजरायलले अर्डर गरेका ‘धेरै कुरा’ अहिले आपूर्ति भइरहेको बताएका छन् ।
‘इजरायलले माग गरेका र पैसा तिरेका तर बाइडेन प्रशासनले नपठाएका धेरै कुराहरू अहिले आफ्नो बाटोमा छन्,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् ।
पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गत वर्ष गाजाको घना बस्ती भएको क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही सुरु गर्न लागेको देखेपछि दुई हजार पाउण्डको बमको ढुवानी रोकेको थियो ।
पूर्वराष्ट्रपति बाइडेनले त्यस्ता क्षेत्रमा ठूला विस्फोटक हतियारको प्रयोगले ‘ठूलो मानवीय त्रासदी र क्षति’ निम्त्याउने भन्दै आपूर्तिमा रोक लगाएका थिए ।
पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो ।