जनकपुरधाम । मधेस प्रदेश स्थापना भएको झण्डै ७ वर्षपछि प्रदेशसभाको बैठकमा कामकाजको भाषाको विषयले स्थान पाउने भएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ प्रदेशसभामा पेश गर्न लागेकी हुन् । बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । यद्यपि, बैठक भने अहिलेसम्म सुरु भएको छैन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेको छ भने त्यसपछि भोजपुरी रहेको छ ।
यस्तै, आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले प्रदेश कृषि विकास विधेयक सम्बन्धी समितिको प्रतिवेदन उपर दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।


