जनकपुरधाम, भदौँ १६ ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान नेकपा माओवादी केन्द्रले शनिबारदेखि देशव्यापिमा सुरु गर्दैछ । यस अभियान अवधिभरमा २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो ।
अभियानको उद्घाटन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छ हजार ७४३ वडामा एकैसाथ भर्चुअल माध्यमबाट गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट उद्घाटन गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जनाएका छन् । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । भने धनुषालगायतका हरेक वडामा दिउँसो १ बजेदेखि उद्घाटन गरिने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज अजयशंकर नायक अविनाशले बताए ।
यस अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । भने सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।

सातै प्रदेशमा टुङ्गियो कार्यविभाजन
सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बसेर केन्द्रले जारी गरेको परिपत्रअनुसार नेताहरूको कार्यविभाजन, जनपरिचालन, अभियानको मोडालिटी लगायत विषय टुङ्गिएको सचिव डिलाराम आचार्यले जानकारी दिएका छन् ।
माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एसियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक सङ्कलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू उपत्यकाका अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गर्ने तयारी छ । उद्घाटनको दिन सबै केन्द्रीय सदस्यहरू वडा तहमा पुग्ने र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको सचिव आचार्यले बताए ।


